
अत्तरियाः नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन आफ्ना प्रदेशसभा सदस्यहरूलाई ह्वीप जारी गरेको छ।

बुधबार बसेको एमाले प्रदेश संसदीय दलको बैठकले सबै सांसदलाई अनिवार्य रूपमा उपस्थित भई विश्वासको मतको पक्षमा मतदान गर्न निर्देशन दिएको हो। दलका नेता राजेन्द्र सिंह रावलका अनुसार उक्त निर्णय संसदीय दलको कार्यालयमा बसेको बैठकबाट गरिएको हो।

मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि नाउपाले समर्थन फिर्ता लिएको थियो। सोही कारण बिहीबार साँझ ५ बजे बस्ने प्रदेशसभा बैठकमा शाहले विश्वासको मत लिँदैछन्।

यसअघि कांग्रेस संसदीय दलले पनि आफ्ना सदस्यहरूलाई विश्वासको मतमा साथ दिन ह्वीप जारी गरिसकेको छ।





























