
बैतडी — बैतडीको सिगास गाउँपालिका – ६ का वडा अध्यक्ष तेजबहादुर साउदले सिंहदरबारमै पुगेर गृहमन्त्री रमेश लेखकलाई खादा ओढाएर सम्मान सहित धन्यवाद व्यक्त गर्नुभएको छ । बैतडी, डोटी र बझाङको संगमस्थल तथा रणनीतिक दृष्टिले संवेदनशील मानिने सिगास गाउँपालिका–६ मोरीबगरमा श्रावण ११ गतेदेखि अस्थायी प्रहरी पोष्ट स्थापना गर्न पटक पटक सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गरेका हुन ।

यससँगै, वर्षौँदेखि सुरक्षाको अभावमा अपराधको जोखिम भोग्दै आएका स्थानीय बासिन्दाले अब दीर्घकालीन सुरक्षा संरचनाको आशा व्यक्त गरेका छन्।


यो प्रहरी चौकी स्थापनाका लागि लामो समयदेखि प्रयास भइरहेको थियो । गाउँपालिका अध्यक्ष हरिसिंह धामीले जिल्ला सुरक्षा समितिबाट निर्णय गराउनदेखि गृह मन्त्रालयसम्म पटक–पटक पहल गरेका थिए ।
सिगास गाउँपालिका अध्यक्ष धामीका अनुसार, प्रहरी पोष्टको स्थापना केवल अपराध नियन्त्रणका लागि मात्र नभई सामाजिक सद्भाव, विवाद समाधान, आकस्मिक उद्धार, विपद व्यवस्थापन र विकासको वातावरण सुदृढ गर्ने दिशामा पनि ऐतिहासिक मोड हो । “हामी केही दिनमै यसको औपचारिक उद्घाटन गर्ने तयारीमा छौं,” उनले भने ।
यस प्रक्रियामा वडा नं. ६ का अध्यक्ष तेजबहादुर साउद, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि उत्तर ऐर र गृहमन्त्री रमेश लेखकले पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

आइतबार वडा अध्यक्ष तेजबहादुर साउदले सिंहदरबार पुगेर गृहमन्त्री लेखकलाई भेटेरै मोरीबगरमा अस्थायी प्रहरी पोष्ट स्थापना गर्न दिएको सहयोगका लागि खादा सहित औपचारिक धन्यवाद ज्ञापन गर्नुभएको छ । जनताको दीर्घकालीन माग अनुसार गृह मन्त्रालय देखि सम्बन्धित सबै निकायसँग निरन्तर समन्वय गरेर मात्र मोरीबगरमा अस्थायी प्रहरी पोष्ट स्थापना भएको र प्रहरी आवास भवन निर्माण सम्पन्न भइसकेको छ र सहायक प्रहरी निरीक्षकसहित आठ जना प्रहरी टोली अहिले नै खटिसकेको बताउनुभएको छ।

यसैबीच हाल सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको लागि बायोमेट्रिक प्रणाली लागू गरिएकोमा सफल र सहज रुपमा सेवा लिन नागरिकलाइ असहज भएको भनि गृहमन्त्री लेखकले भेटका क्रममा निवर्तमान नेपाली कांग्रेस बैतडी जिल्ला कार्यसमिति सचिव पूर्णानन्द लेखक, निवर्तमान नेपाली कांग्रेस बैतडी जिल्ला कार्यसमिति कोषाध्यक्ष वर्तमान भूमि व्यवस्था आयोग बैतडी जिल्ला अध्यक्ष रमेश पाण्डेय लगायत वडा अध्यक्ष साउदले उठाएको कुरामा स्थानीय नेतृत्व र जनताको सक्रियताको प्रशंसा गर्दै भने, सुरक्षामा आम जनतामा कमी नआओस् भन्ने गरी गृह मन्त्रालय निरन्तर सक्रिय रहनेछ। साथै उनले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने प्रत्येक नागरिकलाई पहाड वा तराई जुनसुकै स्थानबाट पनि बायोमेट्रिक प्रणालीमा सहज रूपमा जोड्ने व्यवस्था मिलाइने जानकारी दिए । यसले लाभग्राहीलाई सेवा लिन थप सहजता दिनेछ ।

स्थानीयवासीले यो कदमलाई ऐतिहासिक सुरक्षात्मक उपलब्धि’ का रूपमा स्वागत गरेका छन्। उनीहरूका अनुसार, प्रहरीको प्रत्यक्ष उपस्थितिले अपराध नियन्त्रण मात्र होइन, आपतकालीन अवस्थामा तत्काल सहयोग, कानुनी पहुँचको सहजता, सूचना आदानप्रदान, राहत तथा उद्धारमा छिटो प्रतिक्रिया सुनिश्चित हुनेछ । भौगोलिक दृष्टिले टाढा र विपद्का घटना बढी हुने यो क्षेत्रमा प्रहरी चौकीको स्थायी उपस्थिति रहँदा शान्ति–सुरक्षासँगै विकास र सामाजिक स्थायित्वमा दीर्घकालीन फाइदा पुग्ने स्थानीयको विश्वास छ ।


















