
टेलिभिजन कमेडी शो कमेडी दरबार का लेखक तथा कमेडियन विकास अर्याललाई पछिल्लो एपिसोडपछि धम्की आइरहेको छ।

अर्यालले हालैको एपिसोडमा माग्ने राजा शृंखलामा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नक्कल गर्दै प्रस्तुति दिएका थिए। सोही प्रस्तुतिका केही संवादलाई लिएर बारम्बार धम्कीपूर्ण फोन आएको उनले बताएका छन्।
“विभिन्न अपरिचित व्यक्तिहरूबाट फोन आइरहेको छ। आफ्नो परिचय खुलाउँदैनन् तर भिडिओमा बोलेका केही संवाद हटाउन माग्छन्,” अर्यालले बताए।


उनका अनुसार कार्यक्रमको ४३ मिनेटतिर बोलेको “मलाई सामान्य नठान्नुस्, म युद्ध मात्र लडेको होइन, चुनाव मात्र लडेको होइन, ट्वाइलेटमा पनि लडेको मान्छे हो” भन्ने संवाद, र ४४ मिनेटमा अभिनेत्री वर्षा सिवाकोटीलाई लिएर गरिएको अर्को व्यङ्ग्यात्मक टिप्पणीमा आपत्ति जनाइएको हो। साथै, भिडियोमा ‘५ हजारको जिम्मा’ भन्ने अंशप्रति पनि असन्तुष्टि व्यक्त गरिएको उनले बताए।
अर्यालले भने, “हास्य–व्यङ्ग्यलाई कृपया हास्य–व्यङ्ग्यकै रूपमा लिनुहोस्। हाम्रो उद्देश्य केही क्षणका लागि भए पनि हँसाउनु हो, विवाद ल्याउनु होइन।”

















