
भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमी पर्व आज सनातन धर्मावलम्बी महिलाले श्रद्धा र भक्तिसहित सप्तऋषिको पूजा–अर्चना गरी मनाइरहेका छन्। बिहान सबेरै नदी, तलाउ वा पवित्र जलाशयमा स्नान गरी माटो, गोबर, कुश, तिल र दतिवन प्रयोग गर्ने परम्परा छ। महिलाहरूले दतिवनका ३६५ डाँठले दाँत माझी ३६५ पातले स्नान गर्ने गर्छन्।

यस दिन कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ सप्तऋषिसहित वशिष्ठकी पत्नी अरुन्धतीको पूजा गर्ने गरिन्छ। पूजामा मौसमी फूललगायत ३६५ वस्तु अर्पण गर्ने प्रचलन छ। शास्त्रीय मान्यताअनुसार यस व्रतले रजस्वलाका दोष नाश हुने विश्वास गरिएको छ।

धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईका अनुसार परम्परागत रुपमा महिलाले मात्र गर्ने भनिए पनि ऋषिपञ्चमी व्रतकथामा पुरुषले पनि यो व्रत गर्नुपर्ने उल्लेख छ। पतिपत्नी दुवै मिलेर सात वर्षसम्म लगातार व्रत गरी उद्यापन गर्ने विधान रहेको छ।

पूजापश्चात् महिलाले कर्कलाको तरकारीसहित कन्दमूल खाने चलन छ। आज नजोती र नखनी फलेका वस्तु ग्रहण गर्ने विशेष धार्मिक परम्परा रहिआएको छ।





























