
कञ्चनपुर: लगातारको वर्षा र जोगबुढा नदीको पानी बस्तीमा पसेपछि कञ्चनपुरमा ५२ परिवार विस्थापित भएका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार दोधाराचाँदनी नगरपालिका–८ रामपुरे टापुका २५ घरका ७० जनालाई जनाता माध्यमिक विद्यालय देउरालीमा सुरक्षित राखिएको छ। वडा नम्बर ३ पटेराखल्लाका १५ परिवारका १०–१५ जनालाई जमुना आधारभूत विद्यालय जमुनाघारीमा र वडा नम्बर १० कान्तीटोलका १२ घरका ४० जनालाई अम्बिका माध्यमिक विद्यालयमा सारिएको छ। सबै विस्थापित सुरक्षित रहेको अधिकारीले जानकारी दिए।

यस्तै, महाकाली नदीमा पानीको बहाव बढ्दै गएको छ। डिएसपी बोहराका अनुसार नदीको बहाव एक लाख ६२ हजार क्युसेक पुगेको छ। पानीको बहाव एक लाख क्युसेक नाघ्ने बित्तिकै नेपाल–भारत सीमा क्षेत्रमा रहेको शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधनको आवागमन रोक लगाइने गरिन्छ।


















