
अत्तरिया:गोदावरी नगरपालिका–८, स्याउलेका युवा व्यवसायी तथा समाजसेवी गोपाल देउवा सुदूरपश्चिमको धार्मिक तथा सांस्कृतिक पर्व गौरा मेलामा सम्मानित भएका छन्। भदौ १६ गतेदेखि २१ गतेसम्म श्री विश्वनाथ महादेव मन्दिर परिसरमा भव्यतापूर्वक सम्पन्न मेलाको समापन समारोहमा आयोजक समितिले देउवालाई सम्मान प्रदान गरेको हो।

धार्मिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रको संरक्षण र प्रवर्द्धनमा निरन्तर सक्रिय देउवाको योगदानलाई उच्च कदर गर्दै समितिले प्रशंसा पत्रसहित सम्मान गरेको कार्यक्रम संयोजक लक्ष्मीदेवी विनाडीले बताइन्।

समाजसेवी देउवा लामो समयदेखि व्यवसायसँगै सामाजिक सेवामा सक्रिय रहँदै आएका छन्। विशेषगरी सुदूरपश्चिम प्रदेशको मौलिक संस्कृति, कला, भेषभूषा र परम्परागत अभ्यासको जगेर्नामा उहाँले महत्वपूर्ण योगदान पु¥याउँदै आएका छन्। स्थानीय धार्मिक कार्यक्रम, सामुदायिक विकास तथा सामाजिक सेवामा अग्रणी भूमिका निर्वाह गर्दै आएका देउवाले गौरा पर्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउनुपर्ने आवश्यकता औंल्याउँदै आएका छन्।

आयोजक समितिका अनुसार, यस्ता सम्मानले समाजसेवी व्यक्तिहरूलाई अझ प्रेरित गर्ने र समाजलाई सांस्कृतिक संरक्षणतर्फ अभिमुख गराउने अपेक्षा गरिएको छ। कार्यक्रममा सहभागी दर्शकले देउवाको निरन्तर योगदानलाई सराहना गर्दै भविष्यमा पनि उहाँको सक्रियता निरन्तर रहोस् भन्ने शुभेच्छा व्यक्त गरेका थिए।

यस वर्षको गौरा मेलामा धार्मिक अनुष्ठानसँगै सांस्कृतिक झाँकी, देउडा खेल र विभिन्न प्रस्तुतिहरू विशेष आकर्षण बनेका थिए। स्थानीय बासिन्दा, धार्मिक अगुवा, समाजसेवी तथा सरोकारवाला निकायहरूको सक्रिय सहभागितामा सम्पन्न मेलाले सुदूरपश्चिमको सांस्कृतिक पहिचानलाई थप मजबुत बनाएको सहभागीहरूको भनाइ छ।





















