
महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन्। उनले भदौ २४ गते नै राजीनामा दिए पनि राष्ट्रपति कार्यालयमार्फत आइतबार मात्र आधिकारिक जानकारी आएको हो।

बडाललाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले २०८१ साउन २ गते महान्यायाधिवक्ता नियुक्त गरेका थिए। करिब डेढ महिनाको छोटो कार्यकालपछि उनले पद छाडेका हुन्।

महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता उद्धवप्रसाद पुडासैनीका अनुसार बडालले स्वेच्छाले राजीनामा दिएका हुन्। एमाले नजिकका कानुनविद् मानिएका बडालको राजीनामा हालको राजनीतिक परिवर्तसँगै आएको भन्दै विश्लेषकहरूले यसलाई अर्थपूर्ण भनेका छन्। नयाँ नियुक्ति नभएसम्म कार्यवाहकका आधारमा कार्यालय सञ्चालन हुने जनाइएको छ।




















