
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा सक्रिय रहनुका साथै अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव देखिएको छ। यसको कारण देशका अधिकांश भूभागमा आंशिकदेखि साधारणतया बदली छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। दिउँसो यस्ता प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा र तराईसहितका केही भागमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति पनि देशभर बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुने र तराईसहित पहाडी भूभागका केही भागमा भारी वर्षा पर्न सक्ने पूर्वानुमान छ।

महाशाखाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाउन आग्रह गरेको छ।





























