
भदौ २४ गतेको आन्दोलनका क्रममा कैलालीको गोदावरी नगरपालिका भवन पूर्ण रूपमा जलेर नष्ट भएको छ। एशियाली विकास बैंकको ऋण सहयोगमा निर्माण भएको भवनमा शिक्षा, स्वास्थ्य र जिन्सी शाखा जलेर क्षतिग्रस्त भएका छन्।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीका अनुसार करिब ९ करोड ५३ लाख बढीको क्षति भएको हो । क्षति मूल्याङ्कनका लागि प्राविधिक टोली खटाइएको छ। वडा कार्यालयहरूले सेवा निरन्तरता दिँदै आए पनि शिक्षा र स्वास्थ्यजस्ता महत्वपूर्ण कार्यक्रम प्रभावित भएका छन्।

शिक्षक कृष्णराज पाठकका अनुसार, नगरपालिकाबाट सञ्चालन हुने योजना ठप्प भए। वडा अध्यक्ष प्रेम सिंह बडैलाले सेवा पुनः सञ्चालनको तयारी थालिएको जानकारी दिए।

गोदावरीसँगै गौरिगंगा, घोडाघोडी र कैलारी गाउँपालिकामा पनि आन्दोलनका क्रममा आगजनी भएको थियो। चोरी भएका सामग्री फिर्ता गर्न स्थानीय तहले अनुरोध गरेको छ।
































