
आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज औँसी तिथिमा तर्पण, सिदादान र पिण्डदान गरी समापन हुँदैछ। पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको दिनलाई मिलाएर सोह्रश्राद्ध गरिन्छ। शास्त्रअनुसार कुनै कारणले अन्य दिनमा गर्न नसके आजै गर्ने वा पछि आश्विन शुक्ल पञ्चमीदेखि कार्तिक कृष्ण औँसी वा मङ्सिरसम्मका विकल्पअनुसार गर्न सकिन्छ।

धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार, अष्टमी, द्वादशी, औँसी, व्यतीपात योग जस्ता विशेष दिनमा पनि सोह्रश्राद्ध गर्न सकिने व्यवस्था छ। यदि व्यक्ति स्वयं गर्न सक्दैन भने ब्राह्मणमार्फत वैदिक मन्त्रका १०८ जप गरेर पनि पितृलाई तृप्त पार्न सकिन्छ।

सोह्रश्राद्धले पितृप्रतिको दायित्व पूरा गर्दै पितृऋणबाट मुक्त हुने विश्वास छ। उपत्यकाका गोकर्णेश्वर, देवघाट, त्रिवेणीजस्ता तीर्थस्थलमा श्रद्धालुहरूको घुइँचो लाग्छ। पितृपक्ष समाप्तसँगै दुर्गापक्ष अर्थात् बडादशैंको पर्व सुरु हुन्छ।
































