
जेनजी पुस्ताको आन्दोलनका क्रममा भदौ २४ गते राति बैतडी कारागारमा तोडफोड र आगजनी गरी ६२ जना कैदीबन्दी तथा थुनुवा फरार भएका थिए।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलका अनुसार हालसम्म ६० जना पुनः कारागार फर्काइसकिएका छन्। उनीहरू मध्ये केहीलाई विभिन्न स्थानबाट पक्राउ गरिएको हो भने केही आफैं सम्पर्कमा आएर फर्किएका हुन्। चार जनालाई भारतबाट पक्राउ गरी ल्याइएको पनि बताइएको छ।

तर दुई जना अझै फरार रहेको र उनीहरूको खोजी कार्य जारी रहेको जिल्ला कारागार कार्यालयकी प्रमुख धारा भण्डारीले जानकारी दिइन्। क्षमताभन्दा करिब तीन गुणा बढी कैदी राखिँदा व्यवस्थापनमा चुनौती थपिएको उनको भनाइ छ।





















