
सुदूरपश्चिम प्रदेशका प्रादेशिक संरचनाका कार्यालय र मन्त्रालय जेनजी आन्दोलनको क्रममा भएका तोडफोड र आगजनीका कारण डेढ हप्तादेखि ठप्प छन्।


आन्दोलनकारीले प्रदेश सभा भवन, प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा सामाजिक विकास मन्त्रालयसहित विभिन्न कार्यालयमा आगजनी र क्षति पुर्याएका थिए। प्रदेश सभामुख भीमबहादुर भण्डारीले भने, “प्रदेश सभाको पूरै संरचना ध्वस्त भएकाले पुनर्निर्माण नभएसम्म बैठक बस्ने अवस्था छैन।”
मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रालय र कार्यालयहरू छिटो सुचारु गर्न आवश्यक सरसफाइ, मर्मत र आवश्यक सामग्रीको व्यवस्था गर्न निर्देशन दिएका छन्। सामाजिक विकास मन्त्रालयले अस्पताल र स्वास्थ्य संस्थाको सेवा निरन्तर राख्दै आफ्नो कार्यालय पनि चाँडै सञ्चालन गर्ने तयारी गरिरहेको छ। प्रदेश सरकारले सेवा प्रवाह रोकिँन भन्ने सुनिश्चित गर्दै पुनर्निर्माण र सञ्चालनको गृहकार्य अघि बढाएको छ।
क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणपछि मात्र पूर्ण रूपमा कार्यालय सञ्चालन हुने अपेक्षा गरिएको छ।































