
अत्तरिया: सुदूरपश्चिम प्रदेश सरकारले आगामी मङ्सिरमा आयोजना गर्ने भनिएको सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन फेरि अन्योलमा परेको छ। सम्मेलनका लागि प्रदेश सरकारले लाखौँ रुपैँया खर्च गरिसकेको भए पनि आयोजनाको सुनिश्चितता भने अहिलेसम्म छैन।

जेनजी आन्दोलनका क्रममा प्रदेशअन्तर्गतका भौतिक संरचना ध्वस्त भएपछि सम्मेलनको तयारीमा ठूलो चुनौती देखिएको छ। सांसद र मन्त्रीहरू काठमाण्डौँमा सरोकारवालासँग छलफल गर्न पुगेका थिए र त्यहाँको खर्च पनि प्रदेश सरकारले व्यहोरेको थियो। धनगढीमा समेत थुप्रै बैठकहरू सम्पन्न भए, तर अहिलेसम्म कति बजेट खर्च भएको हो भन्ने विषयमा सरकार बोल्न मानेको छैन।
आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बमका अनुसार पछिल्लो परिस्थितिका कारण सम्मेलन आयोजना सम्भव छैन। “यस्तो विध्वंसपछि विदेशी लगानीकर्ताहरू आउँदैनन्,” उनले बताए।


प्रदेश सरकारले स्वदेशी तथा विदेशी लगानी भित्र्याउने उद्देश्यले विगत तीन वर्षदेखि तयारी गर्दै आएको सम्मेलन अब औचित्यहीन बन्ने अवस्थामा पुगेको छ। जेठ २१ गते प्रिसम्मेलनसमेत आयोजना गरिएको थियो र नौ वटा क्षेत्र पहिचान गरिएका थिए। सम्मेलनको सफलताका लागि केही कानुन संशोधन र नयाँ कानुन निर्माणको तयारी अगाडि बढाइएको थियो।
तर नीति तथा कानुन परिमार्जन सिफारिस उपसमितिका संयोजक डा. ताराप्रसाद जोशीले अब लगानीमैत्री वातावरण निर्माणभन्दा पनि सम्मेलन नै आयोजना गर्ने वातावरण नभएको स्पष्ट पारेका छन्। परिणामस्वरूप सुदूरपश्चिम प्रदेश लगानी सम्मेलनको भविष्य अन्योलमै रहेको छ।































