
हिन्दु नेपालीहरूको महान पर्व बडादसैँ सुरु भइसकेको छ। चाडपर्व नजिकिँदै गर्दा सुदूरपश्चिम प्रदेशमा विशेष सुरक्षा योजना लागू गरिएको छ। यसपालि जेन–जी आन्दोलनका क्रममा फरार भएका कैदीबन्दीका कारण सुरक्षा चुनौती थपिएको छ। जबरजस्ती करणी, कर्तव्य ज्यानलगायत मुद्दामा सजाय पाइसकेका कैदी कारागारबाट फरार भएकाले प्रहरी अझ सतर्क बनेको हो।


सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी डम्बरबहादुर विकका अनुसार यस वर्ष चाडपर्व लक्षित एकीकृत सुरक्षा योजना लागू गरिँदैछ। आपराधिक गतिविधि नियन्त्रण तथा सम्भावित घटनालाई रोकथाम गर्ने रणनीति तयार पारिएको उनले बताए।
विशेषगरी दसैँ, तिहार र छठका लागि सीमा सुरक्षालाई कडाइ गर्ने, चोरी, तस्करी, ठगी, लुटपाट, जुवाजस्ता गतिविधि नियन्त्रणमा ध्यान दिने तयारी भएको छ। साथै, भारतबाट फर्किने नागरिकको आवागमनमा सहजता ल्याउन बसपार्क, सीमा नाका लगायतका ठाउँमा नागरिक सहायता कक्ष स्थापना गर्ने योजना बनाइएको छ।
चाडपर्व अवधिमा यात्रुहरूको चाप बढ्ने भएकाले ट्राफिक व्यवस्थापनलाई पनि प्राथमिकतामा राखिएको छ। सुरक्षा निकायबीच सहकार्य गर्दै यसपालि विगतभन्दा प्रभावकारी ढंगले चाडपर्व सुरक्षित बनाउने तयारी भएको प्रहरी कार्यालयले जनाएको छ।





























