
अत्तरियाः कैलालीको गोदावरी नगरपालिकालाई भाद्र२३–२४ गतेको जेनजी आन्दोलनमा ठूलो क्षति पुगेपछि स्थानीयस्तरबाट सहयोग जुट्न थालेको छ। “मेरो पालिका, म आफै बनाउछु” अभियानअन्तर्गत नगरपालिकाले सार्वजनिक रूपमा सहयोगको अपिल गरेसँगै विभिन्न संघसंस्था, विद्यालय, सहकारी संस्था र स्थानीय नागरिकहरूले आवश्यक सामग्री उपलब्ध गराएका छन्।

गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले भने, “हामी सबैको सहयोगबाट हाम्रो नगर पुनःनिर्माण हुने छ। यस कठिन परिस्थितिमा अग्रसर भएका सबै साथीहरूलाई धन्यवाद दिन चाहन्छु। आगामी दिनमा पनि यस्तो सहकार्य जारी रहोस् भन्ने मेरो अपिल छ।”

नगरपालिकालाई असोज ५ र ७ गते उपलब्ध गराइएको सहयोग विवरण अनुसार, श्री सुप समावेशी आधारभूत विद्यालयका शिक्षकहरूले दराज १ थान, घुम्ने कुर्सी १ थान र प्लास्टिक कुर्सी २ थान उपलब्ध गराएका छन्। लुनिभा सहकारी तथा वित्तीय संस्था, अत्तरिया शाखाले टेबुल १ थान उपलब्ध गराएको छ। महिला गोदावरी महिला समूहले अफिसियल दराज १ थान प्रदान गरेको छ भने, श्री सरस्वती माध्यमिक विद्यालय, गोदावरी–९ ले कम्प्युटर सेट २ थान उपलब्ध, भागेश्वर फ्लोर मिलका संचालक लाल बाहदुर बोगटीबाट अफिसियल सोफा १ सेट गराएका छन्।

त्यसै गरी, चण्डेश्वरी एजेन्सी प्रा. लि., अत्तरिया बाट प्रिन्टर १ थान, फकलपुर गाउँ, गोदावरी–८ बाट प्लास्टिक कुर्सी १० थान र शैलेश्वरी मावि, गोदावरी–६ का शिक्षकहरूले दराज १, अफिस टेबल १ र घुम्ने कुर्सी १ थान उपलब्ध गराएका छन्। गोदावरी ईसाई समाजले पनि अफिसियल दराज ९ थान उपलब्ध गराएको छ।
नगर प्रमुख भट्टले थप भने, “हामीले प्राप्त सबै सहयोग नगरपालिकाको पुनःनिर्माण र विकास कार्यमा प्रयोग गर्नेछौं। आगामी दिनमा पनि यस्तै सहयोगी हातहरू अघि बढ्ने विश्वास छ।”
गोदावरी नगरपालिकाले सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरू र संस्थालाई हार्दिक धन्यवाद व्यक्त गर्दै, पुनःनिर्माणका लागि सबैको सक्रिय सहभागितामा भरोसा व्यक्त गरेको छ।



































