
अत्तरियाः असोज ७ गते कैलालीको गौरीगंगा नगरपालिका–६, बनबेहडास्थित अमर माध्यमिक विद्यालयमा विशेष कार्यक्रम आयोजना गरी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।

विद्यालयमा अध्यापन गराउँदै आएका नवीन बिष्टले आफ्नो जन्मदिनको अवसर पारेर विद्यालयका विपन्न तथा जेहेन्दार १४ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका हुन्। साथै, उनले विद्यालयलाई सहयोगस्वरूप वडा कार्यालयमार्फत १ थान पंखा पनि हस्तान्तरण गरे।


बिष्टले जन्मदिनलाई भोजभतेरमा खर्च गर्नेभन्दा शिक्षा प्रति विद्यार्थीको रुचि बढाउने कार्यमा लगाउनुपर्ने बताएका छन्। “समाजसेवाबाट प्रेरणा पाएको छु, जन्मदिनलाई सेवा र सद्भावका साथ मनाउन पाउँदा अत्यन्त खुशी छु,” बिष्टले भने। उनले विद्यार्थीलाई नियमित अध्ययनमा प्रोत्साहित गर्दै उज्वल भविष्यको शुभकामना पनि व्यक्त गरे।
शैक्षिक सामग्री तथा पंखा वितरण कार्यक्रममा गौरीगंगा नगरपालिका–६ का वडा अध्यक्ष टेकबहादुर कुवर, वडा कार्यालयका कर्मचारी, शिक्षक तथा स्थानीयको उपस्थिति थियो।































