
बैतडी: बैतडीको सिगास गाउँपालिका सहित सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा अहिले खर काट्ने चटारो निकै बढेको छ। हिउँदको समयमा घरपालुवा गाईवस्तुहरूलाई खुवाउनका लागि खर काटेर थुपार्ने चलनअनुसार ग्रामीण महिलाहरू बिहानदेखि बेलुकासम्म खर काट्ने काममा व्यस्त छन् ।

सिगास–७ की पार्वती ऐरले भनिन्, “असोजको पहिलो सातादेखि नै खर काट्ने क्रम सुरु भएको हो। अहिले गाउँघरका महिलाहरू खर काट्ने काममै व्यस्त छन् ।”
सिगास–४ की शर्मा साउदका अनुसार, “हिजोआज गाउँघरमा खेतीपातीसँगै खर काट्ने चटारो बढेको छ। बिहानदेखि बेलुकासम्मको समय यही काममा बित्छ।”


स्थानीय वीर बहादुर ऐरले पनि सिगास गाउँपालिका भरि महिलाहरूको व्यस्तता बढेको बताए। उनका अनुसार, असोज–कार्तिकमा काटेर थुप्रो बनाइने खर हिउँदमा गाईवस्तुलाई खुवाइन्छ ।
सुदूरपश्चिमका पहाडी जिल्लामा हरेक वर्ष यसरी खर काट्ने चलन रहे पनि यो सजिलो काम भने होइन। भीरपाखामा रहेका खरफागलहरूमा खर काट्दा लड्ने र घाइते हुने जोखिम उच्च छ। स्थानीयका अनुसार, यसरी खर काट्दा वर्षेनी धेरैले अकालमै ज्यान गुमाउनुपरेको छ ।
स्थानीय बासिन्दाहरूले समयमै खर नथुपारे हिउँदमा गाईवस्तु भोकै पर्न सक्ने भएकाले जोखिम हुँदाहुँदै पनि महिलाहरू भीरपाखामा झर्दै खर काट्न बाध्य हुने बताउँछन् ।






























