अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ मा रहेको गेटा अस्पतालले २४ घण्टा विशेषज्ञसहितका स्वास्थ्य सेवा दिन थालेपछि बिरामीको चाप उल्लेख्य रूपमा बढेको छ । अस्पतालले ओपिडी, इमर्जेन्सी, ल्याब, फार्मेसी लगायतका सेवा चौबिसै घण्टा सञ्चालन गर्न थालेपछि सेवा लिन आउने विरामीहरू खुसी देखिएका छन् । अस्पतालको ओपिडीमा हाल कार्डियोलोजी, पेडियाट्रिक्स, नेफ्रोलोजी, न्युरोलोजी, साइकेट्रिक लगायतका विशेषज्ञ सेवा सञ्चालनमा छन् । यससँगै २४ सै घण्टा उपलब्ध हुने इमर्जेन्सी, ल्याब तथा फार्मेसी सेवाले विरामीको पहुँच सहज बनाएको छ ।
काउन्टर प्रमुख भोजराज पाण्डेका अनुसार, आर्थिक वर्ष २०८१\८२ मा गेटा अस्पतालको ओपिडी सेवाबाट १६ हजार १२९ जनाले उपचार लिएका थिए । तर, चालु आर्थिक वर्ष २०८२\८३ को साउन महिनामा मात्र ३ हजार १५५ जनाले ओपिडी सेवा लिइसकेका छन् । यस्तै, गत आर्थिक वर्षमा १२ हजार ९७ जनाले प्रयोगशाला (ल्याब) सेवा लिएका थिए भने यो वर्षको साउन महिनामा मात्र १ हजार ५६३ जनाले सेवा लिएको पाण्डेले बताए ।


गेटा अस्पतालको स्वास्थ्य सेवाबाट स्थानीय नागरिक सन्तुष्ट देखिएका छन् । सेवाग्राही नवराज भट्टका अनुसार, अन्य अस्पतालको तुलनामा गेटामा सहज र सरल सेवा पाइने भएको छ । अस्पताल जस्तो हुनुपर्ने हो, पछिल्लो समय गेटा अस्पताल त्यस्तै बन्दै गएको छ, भट्टले भने । त्यस्तै, सेवाग्राही लोकेन्द्र धामीले सेवा विस्तार अझै आवश्यक रहेको उल्लेख गर्दै, उनले भने, “अस्पतालमा सुरु भएका नयाँ सुविधा सराहनीय छन्, तर थप बिस्तार गर्न जरुरी छ ।,”
अस्पतालमा हाल सुदूरपश्चिममा अन्यत्र नभएका आधुनिक सेवा सञ्चालनमा छन् । मेमोग्राम, मोड्युलर ओटी, मोड्युलर ल्याब सेवा र आर्थोस्कोपी सेवा अस्पतालमै उपलब्ध छन् । साथै, इमर्जेन्सी, इण्डोर सेवा, आइसियु र एनआइसियु पनि सञ्चालनमा छन् । हाल ७५ बेड क्षमतासहित सेवा दिइरहेको अस्पतालले आगामी दिनमा थप विस्तार गर्ने तयारी गरेको काउन्टर प्रमुख पाण्डेले जानकारी दिए ।
गेटा अस्पतालले २४ सै घण्टा सेवा विस्तार गरेसँगै यसलाई अझ स्तरोन्नति गरी मेडिकल शिक्षा सञ्चालन गर्ने वातावरण बनाउनुपर्ने माग स्थानीयले गरेका छन् ।