
बझाङ : बझाङमा करेन्ट लागेर एक बालकको ज्यान गएको छ। मष्टा गाउँपालिका–५ किनाडाको जङ्गलमा गाईबस्तु चराउन गएका १३ वर्षीय सुरेश आग्रीलाई करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

प्रहरीका अनुसार, आइतबार राति आएको हावा–हुरीका कारण राष्ट्रिय प्रसारण लाइनको तार चुडिँदै भुईँमा लत्रिएको थियो। सोही तारमा करेन्ट प्रवाह हुँदा आग्रीको मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

घटनास्थलमा प्रहरी टोली पुगेको र आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यस घटनाले विद्युत् प्रसारण लाइनमा देखिएको प्राविधिक कमजोरी र सुरक्षात्मक बेवास्ता प्रस्ट पारेको स्थानीयले बताएका छन्।
































