
अत्तरियाः हत्या, डकैती र चोरीका मुद्दामा भारतमा फरार रहेका नेपाली नागरिक भीम जोरा दिल्लीस्थित आस्थाकुञ्ज पार्कमा सोमबार राति प्रहरी इन्काउन्टरमा मारिएका छन्। गुडगाउँ र दिल्ली प्रहरीबीचको झडपमा गोली लागेर उनको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ।

जोरा नेपालका कैलाली जिल्लाको गोदावरी नगरपालिका–६, लालपुरका बासिन्दा हुन्। भारतीय प्रहरीले उनी कुख्यात अपराधी भएको र उनका बारेमा जानकारी दिनेलाई एक लाख रुपैयाँ पुरस्कार घोषणा गरेको जनाएको छ। उनीमाथि दिल्लीको जांगपुरामा चिकित्सक डा. योगेशचन्द्र पौलको हत्या र गुडगाउँमा भाजपाका नेतृ ममता भारद्वाजको घरमा भएको २० लाख रुपैयाँ चोरीलगायतका मुद्दा दर्ता थिए।

प्रहरीका अनुसार गुडगाउँका प्रहरी उपरीक्षक राजेशकुमार फोगट र सहायक प्रहरी आयुक्त ललित दलालको नेतृत्वमा भएको कारबाहीका क्रममा जोराले गोली चलाउँदा प्रहरी इन्स्पेक्टर नरेन्द्र शर्मा जोगिन सफल भएका थिए। जवाफी गोली प्रहारमा जोरा गम्भीर घाइते भई एम्स ट्रमा सेन्टरमा मृत्यु भएको हो।

उनका एक सहयोगी भने भाग्न सफल भएका छन्। यसअघि चोरीको सम्बन्धमा पक्राउ परेका सहयोगी युवराज थापाको बयानपछि जोराको नाम मुख्य योजनाकारका रूपमा खुलासा भएको बताइएको छ। जोरा सूरत, कर्नाटक र गाजियाबादका पुराना अपराधी सूचीमा पनि परेका थिए।
































