
अत्तरियाः सुदूरपश्चिमका किसान यतिबेला चिन्तामा छन्। खेतमा पाकेर झुलिसकेको बर्खे धानबाली लगातारको अस्थिर मौसमका कारण समयमै भित्र्याउन नसकिँदा उनीहरू तनावमा परेका छन्। गत जेठ अन्तिम र असारको सुरुवातमा रोपिएको धान अहिले काट्ने चरणमा पुगे पनि वर्षाको सम्भावनाले काट्न ढिलाइ भइरहेको किसानहरूको भनाइ छ।

धनगढीका किसान वीरबहादुर राना भन्छन्, “दुई हप्ताअघि नै भित्र्याउने समय थियो, तर मौसमले साथ नदिँदा खेतमै झुलिएको छ। कतिपय गाउँमा काटेर सुकाइएको धान पनि वर्षाले भिजाएर नोक्सान गर्यो।” बडादसैँपछि तिहार मनाउने तयारीमा रहेका किसानलाई आकाशमा लगातार बादल लाग्दा पाकेको धान काट्ने उचित समय पाउन कठिन भएको छ।
मनसुनी वर्षा कमजोर भइसके पनि स्थानीय वायुको प्रभावले अझै पनि वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित कार्यालयले जनाएको छ। किसान लक्ष्मण चौधरीका अनुसार, “फूलपातीकै दिन काटिएको धान राति परेको पानीले भिजेर बिग्रियो।”


किसान मानबहादुर चौधरी भन्छन्, “काटौँ भने भिज्ने डर, नकाटौँ भने खेतमै बिग्रिने जोखिम छ।”
कैलाली र कञ्चनपुरमा करिब १ लाख २० हजार हेक्टरमा धानखेती हुने गर्छ, जसको उत्पादन पहाडी सात जिल्लामा आपूर्ति हुन्छ। प्रदेशभर बर्खे धानखेती १ लाख ८१ हजार हेक्टरमा गरिँदै आएको छ। कृषि प्राविधिकका अनुसार पछिल्ला वर्षमा उत्पादनमा सुधार देखिए पनि असमय वर्षाले यस वर्षको उपजमा असर पुर्याउने अनुमान गरिएको छ।






























