अत्तरिया: कैलालीको गोदावरी–४ बास्कोटामा सुरु भएको जेवाईसी कप लोटस आई प्रिमियर लिग क्रिकेट प्रतियोगितामा सिवाईसी अत्तरियाले विजयी सुरुवात गरेको छ। बुधबारको उद्घाटन खेलमा सिवाईसीले ह्वाईट बल क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै प्रभावशाली जित हात पारेको हो।

टस जितेर ब्याटिङ गरेको ह्वाईट बल क्रिकेट क्लब ९.५ ओभरमै ६० रनमा समेटियो। टोलीका प्रोहित बडुले २०, राजेश भट्टले १२ र प्रिसियस मल्लले १० रन योगदान दिए। सिवाईसीका भोज भट्टराईले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए, जबकि अभिषेक कोइराला र गौरभ जोशीले २–२ विकेट हात पारे।

६१ रनको लक्ष्य पछ्याएको सिवाईसी अत्तरियाले ६.१ ओभरमा ३ विकेट गुमाउँदै सहज जित निकाल्यो। ओपनर खगेन्द्र जोशीले १६ बलमा ३८ रनको आक्रमक पारी खेले। उनलाई राज बि.के.ले १० र कैलाश भट्टराईले ९ रनको साथ दिएका थिए। ह्वाईट बलका नविन जोशी र प्रकाश भट्टले १–१ विकेट लिएका थिए। प्रतियोगिता संयोजक खेमराज जोशीका अनुसार बिहीबार तीन खेलहरू आयोजना गरिने छन्।