
कञ्चनपुर: कृष्णपुर नगरपालिका–२ वाणी नयाँबस्तीस्थित बन्द नदी जोखिम क्षेत्रमा निर्माणाधीन जैविक तटबन्धको अनुगमन बुधबार सम्पन्न गरिएको छ। बाढी र नदी कटानीबाट स्थानीयलाई सुरक्षित राख्ने उद्देश्यसहित सुरु गरिएको तटबन्ध योजनाको प्रगति हेर्न समन्वय टोली स्थलमै पुगेको हो।

अनुगमनमा बन्द नदी सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारीहरु, कृष्णपुर २ का वडा अध्यक्ष अर्जुनसिंह साउद, NNSWA कञ्चनपुरका प्रतिनिधि तथा स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो।

NNSWA को CRC परियोजना अन्तर्गत मर्सीकोर (Mercy Corps) सँगको साझेदारीमा करिब ३ सय मिटर लम्बाइको जैविक तटबन्ध निर्माण कार्य अघि बढाइँदै छ। यसबारे जानकारी दिँदै NNSWA का कार्यक्रम संयोजक महेश घिमिरेले तटबन्धले दीर्घकालीन रूपमा स्थानीय क्षेत्रमा हुने कटानी जोखिम न्यूनिकरणमा मद्दत गर्ने बताए।

तटबन्ध निर्माण कृष्णपुर नगरपालिकासँगको समन्वयमा NNSWA को आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन हुदैछ। निर्माणका लागि नगरपालिका तथा NNSWA का प्राविधिक टोलीले स्थलको नापजाँचसमेत सम्पन्न गरेका छन्।


वडा अध्यक्ष साउदका अनुसार, जैविक तटबन्ध निर्माणपछि वाणी नयाँबस्तीका स्थानीयले वर्षौँदेखि भोग्दै आएको जमिन कटानी समस्या उल्लेखनीय रूपमा कम हुने छ। साथै अत्यन्त जोखिमपूर्ण क्षेत्रमा पक्की तटबन्ध निर्माण पनि चाँडै अघि बढाइने जानकारी दिए।

































