
सुदूरपश्चिम प्रदेश सुरक्षा समितिको बैठकले आगामी २१ फागुनका लागि हुने निर्वाचनमा सुरक्षा सुनिश्चित गर्ने एकीकृत रणनीति तयार गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा आइतबार धनगढीमा बसेको बैठकले नागरिकलाई सुरक्षा प्रत्याभूति दिने गरी व्यापक सुरक्षा व्यवस्था मिलाउने घोषणा गरेको हो।

बैठकमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुख र प्रतिनिधि सहभागी थिए। सुरक्षा समितिले भारतसँग जोडिएका मुख्य नाकामा दीपावली र छठ पर्वमा सम्भावित लुटपाट, आपराधिक गतिविधि नियन्त्रण र नागरिक आवागमन सहज बनाउने व्यवस्था मिलाउने निर्णय गरेको छ।
त्यस्तै, लागुऔषध ओसारप्रसार नियन्त्रण र बजारमा अस्वभाविक मूल्यवृद्धि, म्याद नाघेका खाद्यवस्तु बिक्री, अखाद्य वस्तु मिसावट नियमन गर्न सरोकारवाला निकायलाई निर्देशन दिने निर्णय गरिएको छ। सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज र जनआकांक्षा अनुरूप बनाउन, सुशासन कायम गर्न र निकायको क्षमता सुदृढ गर्न पनि निर्देशन दिइनेछ।


बैठकमा कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, प्रदेश प्रहरी प्रमुख ओमबहादुर राना, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान सुदूरपश्चिम प्रदेश कार्यालयका उच्च अधिकारीहरू सहभागी थिए।
मुख्यमन्त्री शाहका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्बर बमका अनुसार, निर्वाचनको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै सुरक्षा निकायहरूले समन्वयपूर्ण रूपमा कार्य गर्नुपर्ने व्यवस्था सुनिश्चित गरिएको छ। यस रणनीतिले प्रदेशभर सुरक्षित, भयरहित र पारदर्शी निर्वाचन सम्पन्न गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।




















