
चालू आर्थिक वर्षमा अवकाश प्राप्त गरेका गोदावरीका ४ महिला स्वास्थ्य स्वयंसेविकालाई ५०–५० हजार रुपैयाँसहित सम्मान गरिएको छ। राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा गरिएको यस सम्मानले उनीहरूको दशकौँदेखि समुदायप्रति देखाएको समर्पण र योगदानलाई उजागर गरेको छ।

सम्मानित स्वयंसेविकामध्ये मनकली चौधरीले ३२ वर्ष, शान्ति रानाले २८ वर्ष, रत्ना ओझाले २८ वर्ष र निर्मला रावलले २७ वर्षसम्म निरन्तर सेवा गरेर स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण भूमिको निर्वाह गर्दै आए।
गोदावरी–८, ९, ७ र ४ का विभिन्न वडाबाट सेवा दिएर उनीहरूले समुदायको स्वास्थ्य सुधारमा उल्लेखनीय योगदान पुर्याएका थिए।
कार्यक्रम गोदावरी नगरपालिका उपप्रमुख शारदा देवी रोकायाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। सम्मानित स्वयंसेविकाहरूले आफ्नो जीवनका सकभर वर्षहरू समुदाय र मातृ–शिशु स्वास्थ्य सेवामा समर्पित गरेकाले नगरले “विशेष योगदानको कदर” स्वरूप उक्त सम्मान गरेको हो।
उनीहरूको निरन्तर सेवा, समर्पण र त्यागले समुदायमा स्वास्थ्य सचेतना बढाउन ठूलो सहयोग पुर्याएको भन्दै कार्यक्रमले प्रशंसाको साथ कृतज्ञता व्यक्त गर्यो।




























