
बैतडीमा भएको मिनिट्रक दुर्घटनामा चालकको मृत्यु भएको छ। भे.१ ख.१६३९ नम्बरको मिनिट्रक सुर्नया गाउँपालिका–५ को कठेगौणा क्षेत्रमा बिहीबार राति दुर्घटनाग्रस्त भएको हो। ट्रक चालक सुर्नया–४ कौलाडीका २९ वर्षीय नरेश महरा निधन भएको जिल्ला प्रहरी कार्यालय बैतडीले पुष्टि गरेको छ।

सतबाँज–सिरभाँवर सडकखण्डअन्तर्गतको भित्री कच्ची सडकमार्ग हुँदै सुर्नया–४ संसेरमाण्डौबाट धनगढी जाँदै गरेको मिनिट्रक अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल सुर्नया नदीमा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरी तथा स्थानीयको सहयोगमा चालकलाई बाहिर निकालिए पनि घटनास्थलमै ज्यान गएको बताइएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।




























