किसान बहुउद्देश्यीय सहकारीको ३१औँ वार्षिक साधारण सभा तथा कृष्णपुर-एकाई भेला सम्पन्न

Image
Nisarga Hospital

गुलरिया: किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ३१औँ वार्षिक साधारण सभा तथा कृष्णपुर एकाई भेला मंसिर २४ गते बुधबार कृष्णपुर नगरपालिका गुलरियास्थित हरियाली सभाहलमा सम्पन्न भएको छ। वार्षिक साधारण सभा तथा कृष्णपुर एकाई भेलाका सभाअध्यक्ष सहकारी का सञ्चालक समिति सदस्य निरबहादुर शाह रहेका थिए।

CP Hospital Dhangadhi

कार्यक्रमका प्रमुख अतिथि कृष्णपुर नगरपालिका गुलरिया की नगर उप–प्रमुख द्रोपती राना रहेकी थिईन। अतिथिमा क्रमश: लुम्बिनी विकास बैंक वाणी शाखा प्रमुख शंकर पाण्डेय, लुम्बिनी विकास बैंकका कर्मचारी प्रकाश नाथ, हरियाली सामुदायिक वनकी सचिव कल्पना कुमारी साउद, सञ्चारकर्मीहरु र संस्थाका सेयर सदस्यहरूको उपस्थिति रहेको थियो।

nawajiwan

वार्षिकोत्सव समारोहमा उत्कृष्ट केन्द्र सम्मानतर्फ दुई केन्द्र प्रमुखहरू सम्मानित भए। कृष्णपुर–३ देखतभुलीस्थित शैलेशिखर किसान महिला विकास केन्द्रकी केन्द्र प्रमुख रेखा भाट र शुक्लाफाँटा–१२ तिलखी स्थित शितलछाया किसान महिला विकास केन्द्रकी केन्द्र प्रमुख भागरथी राना सम्मानित भए।

त्यस्तै जन्मदेखि मरणोपरान्तसम्मको सुविधा समेट्ने कर्जा मिनाहा किसान कोषअन्तर्गत कृष्णपुर–१ कुमगडाका दिवङ्गत सेयर सदस्य वीरबहादुर खत्रीकी श्रीमती मैना देवी खत्रीलाई रु ५८ हजार सुविधा उपलब्ध गराईएको छ।

किसान कोष शिक्षा पदक अन्तर्गत SEE मा उत्कृष्ट नतिजा प्राप्त गरेका छात्र युवराज बुढा(सेयर सदस्य अमृता देवी वुढा,कृष्णपुर १ पहरिया) तथा छात्रा वर्षा कुमारी विष्ट(सेयर सदस्य पुष्पा देवी विष्ट, लालझाडी-५ बैजनाथ टोल) लाई रु ५ हजार सहित सम्मान गरियो। उच्च शिक्षा (MBBS) अध्ययनतर्फ कृष्णपुर–४ छोटी किचाहीका सेयर सदस्य हिरा धामीका छोरा विमल सिंह धामीलाई रु १० हजार रकमसहित सम्मान प्रदान गरिएको थियो।

उत्कृष्ट व्यवसायिक सेयर सदस्य सम्मानमा सपना चौधरी, आशा देवी चौधरी, राजमती कुमारी ऐर, भागरथी कार्की र सुमित्रा देवी रानालाई व्यवसायिक योगदानका आधारमा सम्मान गरिएको छ।

Attariya Hospital

कार्यक्रममा विभागीय प्रमुख कुलप्रसाद तिमिल्सिनाले सहकारीको स्थापना, उद्देश्य र आर्थिक प्रगति विस्तृतरूपमा प्रस्तुत गरे। सहकारी २०५२ साल कार्तिक १७ गते लम्कीचुहा क्षेत्रमा २५ जना सदस्यसहित रु ६० हजार ३ सय पूँजीबाट स्थापना भएको थियो। हालसम्म विस्तार हुँदै सहकारीले कैलालीमा २३, कञ्चनपुरमा ७, डोटीमा ३, डडेल्धुरा २, अछाम ३, बैतडी र बर्दियामा १/१ गरी जम्मा ४० शाखा सञ्चालनमा ल्याएको छ।

२०८२ असार मसान्तसम्म सहकारीको सेयर पूँजी रु ५१ करोड, कुल बचत रु ४ अर्ब, र कुल सम्पत्ति रु ७ अर्ब पुगेको जानकारी तिमिल्सिनाले दिए। साथै हाल सहकारीमा ९२ हजार ४ सय १५ सेयर सदस्य र संस्थाका विभिन्न शाखामा जम्मा ३ सय ७ जना कर्मचारी कार्यरत रहेका छन्।

लुम्बिनी विकास बैंक वाणी शाखा प्रमुख शंकर पाण्डेयले सहकारीले महिलालाई आर्थिक रूपमा सशक्त बनाउँदै आत्मनिर्भर बनाएको उल्लेख गरे। उनले “जहाँ महिलाहरू अगाडि बढ्छन्, त्यहीँ समृद्धिको सुरुवात हुन्छ” भन्दै सहकारीमा आवद्ध महिलाले स्थानीय विकासमा उल्लेखनीय योगदान पुर्‍याइरहेको बताए।

कार्यक्रममा किसानका वाणी शाखा प्रमुख सन्तोष चौधरीले आगामी योजनाहरू सार्वजनिक गर्दै किसान सहकारीले कृषि विकासमुखी कार्यक्रम, किसान–कोप मार्ट सञ्चालन तथा सदस्यमैत्री सेवा प्रवर्द्धनमा जोड दिने र हाल कृष्णपुर एकाईमा २४ सय सेयर सदस्य किसानमा आवद्ध रहेको बताएका छन्।

प्रमुख अतिथि उप–प्रमुख द्रोपती रानाले सहकारीले महिलालाई बचत, लगानी तथा उद्यमशीलतामा जोडेर आत्मनिर्भर बनाउने काम गरेको बताइन्। उनले वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन पाएकोमा खुशी व्यक्त गरिन्।

सभाध्यक्ष निरबहादुर शाहले सहकारीले महिला क्षमता विकास, जीवनोपार्जनका लागि न्यून मूल्यमा सामग्री उपलब्ध गराउने, जन्मदेखि मृत्युन्जेल सदस्यसँग रहने सेवा निरन्तर दिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा सेयर सदस्यहरूले आफ्ना अनुभव, सुझाव तथा आवश्यक सुधारबारे सिफारिसहरू प्रस्तुत गरे। स्वागत मन्तव्य किसान सहकारी वाणी शाखामा कार्यरत कर्मचारी राम अवतार रानाले प्रस्तुत गरेका थिए। वार्षिकोत्सव कार्यक्रमको सञ्चालन चौमाला इलाका प्रमुख बम बडुवालले गरेका थिए।