सत्यवती एकेडेमीमा प्रथम छात्र फुटबल कपको ट्रफी सार्वजनिक, २३ विद्यालयको सहभागिता

Image
Nisarga Hospital

कैलालीको अत्तरियास्थित सत्यवती एकेडेमीले आयोजना गर्न लागेको प्रथम सत्यवती छात्र फुटबल कप को ट्रफी शनिबार सार्वजनिक गरिएको छ। पत्रकार सम्मेलनमार्फत आयोजक विद्यालयले प्रतियोगिताको ट्रफी प्रदर्शन गरेको हो।

CP Hospital Dhangadhi

प्रतियोगिता मंसिर २९ गते देखि सुरु हुने छ भने यसमा कैलाली र कञ्चनपुरका २३ विद्यालयका टिम सहभागि हुने आयोजक संयोजक सन्तोष कार्कीले जानकारी दिए। उनले भने, “प्रतियोगितामा सहभागि प्रत्येक टोलीलाई ड्रेस, बुट लगायतका आवश्यक सामग्री अनिवार्य गरिएको छ।”

सत्यवती एकेडेमीका सह प्राचार्य चुडामणी गजुरेलले पत्रकार सम्मेलनमा विद्यार्थीमा खेलप्रतिको रुची जगाउन प्रतियोगिता आयोजना गर्न लागिएको बताए। उनका अनुसार, पछिल्लो समय विद्यार्थीहरूले ग्याजेटमा बढी समय खर्च गर्दै आएका छन् र त्यसको दुरुपयोग बढेको छ। प्रतियोगिताले यसलाई कम गर्दै विद्यार्थीलाई स्वस्थ प्रतिस्पर्धात्मक गतिविधिमा जोड्ने विश्वास लिएको छ।

प्रतियोगिताको विजेता टोलीले रु २० हजार नगदसहित ट्रफी र मेडल, दोस्रो हुने टोलीले रु १० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछ। साथै, उत्कृष्ट गोलरक्षक, गोलकर्ता, डिफेन्डर र ‘प्लेयर अफ द टुर्नामेन्ट’ लाई पनि पुरस्कार प्रदान गरिनेछ।

कक्षा ६ सम्मका विद्यार्थी मात्रै सहभागी हुने यस प्रतियोगिताको खेलतालिका पत्रकार सम्मेलनमै गोलाप्रथाबाट सार्वजनिक गरिएको छ। सम्पूर्ण खेलहरू सत्यवती एकेडेमीको आफ्नै खेलमैदानमा आयोजना हुनेछन्।

यो प्रतियोगिताले विद्यार्थीमा खेलप्रतिको रुची बढाउने मात्र नभई शारीरिक तथा मानसिक विकासमा पनि योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।