
कञ्चनपुर: अन्तर्राष्ट्रिय भागवत भूषण आचार्य नारायण शरण उपाध्याय सञ्जेलजी महाराज सनातन संस्कृतिको संरक्षण तथा संवर्द्धनमा पुर्याउनुभएको योगदानको कदर गर्दै सम्मानित हुनुभएको छ।

“राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल”को आयोजनामा राजधानीस्थित नेपाल पर्यटन बोर्डको सभागारमा सम्पन्न कार्यक्रममा उहाँलाई “राष्ट्रिय धरोहर आध्यात्मिक प्रवाचक सम्मान–२०८२” प्रदान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका सञ्चार मन्त्री जगदीश खरेलले दोसल्ला ओढाइ माल्यार्पण गर्दै सम्मानपत्र प्रदान गर्नुभएको थियो। सम्मान समारोह राष्ट्रभक्तिको भावनाले ओतप्रोत रहेको आयोजकले जनाएको छ। भक्तियोग फाउण्डेशन नेपालका संस्थापकाचार्य तथा परमाध्यक्षसमेत रहनुभएका सञ्जेलजी महाराजले अध्यात्म दर्शन र सनातन संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा नेपालसहित विदेशमा समेत निरन्तर योगदान पुर्याउँदै आउनुभएको छ।

सम्मानपछि प्रतिक्रिया दिँदै सञ्जेलजी महाराजले धार्मिक क्षेत्रको संरक्षण र प्रवर्द्धनमा थप जिम्मेवारी महसुस भएको बताउनुभयो। पछिल्लो समय सनातन संस्कृतिमाथि हुने आक्रमण रोक्न कथा प्रवचनको माध्यमबाट निरन्तर सक्रिय रहने उहाँको प्रतिबद्धता छ।

“राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल”का अध्यक्ष राजानन्द माण्डव्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उद्योगपति तथा समाजसेवी डा. भवानी राणा, अभिनेता प्रदीप खड्का, मिस नेपाल लुना लुईटेललगायत विद्वान गुरुजन, कलाकार, समाजसेवी, धार्मिक व्यक्तित्व तथा राजनीतिज्ञहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
अन्तर्राष्ट्रिय रूपमा चर्चित भागवत भूषण सञ्जेलजी महाराज नेपालका सबै जिल्ला तथा भारतलगायत विभिन्न देशहरूमा कथा प्रवचन गर्दै आउनुभएको छ। पछिल्लो समय भागवत कथालाई आर्थिक संकलनको माध्यम बनाइँदै गएको सन्दर्भमा उहाँले आध्यात्मिक सन्देशलाई प्राथमिकता दिने गरेको कारण उहाँप्रतिको जनआकर्षण बढ्दै गएको छ।
सञ्जेलजी महाराजले नेपाली भाषामा पहिलो ‘गणेश चालिसा’ धार्मिक कृति प्रकाशन गर्नुभएको छ। कार्यक्रममा अन्य विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो।
































