
कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. २, बंकमा रहेको श्री ज्ञानोदय गुरुकुल वर्ल्ड स्कुलमा खेल महोत्सव–२०८२ मा शुभारम्भ गरिएको छ। विद्यालयले आज बिहीबार एक औपचारिक कार्यक्रमको आयोजना गरी खेल महोत्सवको उद्घाटन गरेको हो।

आजदेखि सुरु भएको खेल महोत्सवअन्तर्गत विद्यालयमा ३३ विधाका विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गरिनेछ। खेल महोत्सवले विद्यार्थीहरूको शैक्षिक विकाससँगै शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास विद्यालयले लिएको छ।

विद्यालयका संस्थापक मनोज भट्टका अनुसार खेल महोत्सव आगामी २७ गतेसम्म दैनिक रूपमा सञ्चालन हुनेछ भने त्यसपछि करिब एक महिनासम्म हरेक शुक्रबार निरन्तर जारी रहनेछ। हाल ज्ञानोदय गुरुकुल वर्ल्ड स्कुलमा मन्टेश्वरीदेखि कक्षा १० सम्म पठनपाठन हुँदै आएको छ।

खेल महोत्सव उद्घाटन कार्यक्रममा कृष्णपुर नगरपालिका २ का वडा अध्यक्ष अर्जुन सिंह साउद प्रमुख अतिथि रहेका थिए। प्रमुख अतिथि साउदले कार्यक्रमको उद्घाटन गरेका थिए। त्यस्तै कार्यक्रममा कृष्णपुर-२ का वडा सदस्य राजेन्द्र बहादुर सिंह, जिल्ला खेलकुद समिति कञ्चनपुरका अध्यक्ष कुबेर खड्का, कृष्णपुर नगरपालिका का स्रोत शिक्षक गणेश बहादुर चन्द, समाजसेवी रामनाथ योगी लगायत स्थानीय अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतियोगितामा विभिन्न सधनमा विद्यार्थीहरुलाई समावेश गरि प्रतिस्पर्धा गराईनेछ। जसमध्ये धौलागिरी, अन्नपूर्ण, सगरमाथा र सैपाल गरि सधन विभाजन गरिएको छ। विद्यालयले शिक्षा संगै खेलकुदमा समेत विशेष जोड दिईरहेको विद्यालयका संस्थापक भट्टले बताएका छन्।



































