
रास्वपाका वरिष्ठ नेता तथा काठमाडौँका पूर्वमेयर बालेन शाहको राजधानीको मण्डिखाटारस्थित निवासमा चोरी भएको छ। बालेन र उनकी पत्नी बाहिर रहेका बेला अज्ञात समूहले घरमा चोरी गरेको प्रारम्भिक विवरण प्रहरीले दिएको छ।

शुक्रबार साँझ बालेनका मामा ससुराका छोरा घर पुगेपछि चोरी भएको थाहा भएको हो। उनी नियमित रूपमा घरमा बत्ती बाल्ने–निभाउने र बिरुवामा पानी हाल्ने काम गर्दै आएका थिए। हिजो साँझ घर पुग्दा मूल ढोका फोडिएको, घरभित्रका सामान तितरबितर अवस्थामा देखिएपछि उनले तत्काल प्रहरीलाई जानकारी गराएका थिए।

प्रहरीका अनुसार चोरहरूले घरमा जडान गरिएका २–३ वटा सिसीटिभी क्यामेरा, फुटेज रेकर्ड हुने डीभीआर मेसिन तथा बाथरुम र भान्साका धाराका टुटीसमेत चोरी गरेका छन्। अन्य सामानको क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ।

घटनापछि उपत्यका अपराध अनुसन्धान कार्यालय, महाराजगञ्ज प्रहरी वृत्त र जिल्ला प्रहरी परिसर काठमाडौँको टोली अनुसन्धानमा खटिएको छ। एसएसपी सन्तोष खड्काका अनुसार एक इन्स्पेक्टरको नेतृत्वमा विशेष टोली गठन गरी अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुमानमा चोरहरू पर्खाल नाघेर घरभित्र प्रवेश गरेको र ‘प्रोफेसनल’ समूह संलग्न हुनसक्ने देखिएको छ। घटना १४ गतेदेखि हिजो साँझको बीचमा भएको हुनसक्ने प्रहरीको भनाइ छ।
































