
धनगढीमा निजी लगानीमा आधुनिक क्रिकेट मैदान निर्माण हुने भएको छ। कैलालीको धनगढी उपमहानगरपालिका–३ स्थित फाप्ला मैदान नजिकै फाप्ला खेलग्रामका अध्यक्ष सुवाश शाही र मोहन साउँदको संयुक्त लगानीमा उक्त परियोजना अघि बढाइएको हो। करिब पाँच बिगाहा क्षेत्रफलमा फैलिने मैदानमा क्रिकेटसँगै सर्वसाधारणका लागि पार्कसमेत निर्माण गरिनेछ।


अध्यक्ष शाहीका अनुसार अन्तर्राष्ट्रिय मापदण्डअनुसार ६५ देखि ७५ मिटरसम्मको बाउण्ड्री रहने गरी पाँच वटा पिच तयार गरिँदै छन्। पिच निर्माणको जिम्मा रुपन्देहीस्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदान तयार गरिसकेका अनुभवी क्युरेटर माधव पाठकले लिएका छन्। पहिलो चरणमा पिच निर्माण, इरिगेसन र ड्रेनेज प्रणाली जडानको काम भइरहेको छ।
दोस्रो चरणमा पवेलियन, चेन्जिङ रुम र नेट अभ्यास स्थल निर्माण गरिनेछ भने तेस्रो चरणमा प्याराफिट, फ्लड लाइट जडान तथा मैदान बाहिर फुड कर्नर र अन्य व्यवसायिक स्टलहरू स्थापना गरिने योजना रहेको छ। यो परियोजनाले धनगढीलाई क्रिकेटको नयाँ केन्द्रका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।






























