
कैलाली क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधि सभा निर्वाचनका लागि सक्रिय प्रचारप्रसारमा जुटेको छ। क्षेत्रभरी आफ्नो अभियान चुस्त बनाउन रास्वपाले ३० वटै वडामा निर्वाचन सम्पर्क कार्यालय स्थापना गर्ने योजना अघि सारेको छ।


पार्टीले मंगलबारसम्म गोदावरी नगरपालिकाका ९ वटा वडामा सम्पर्क कार्यालय स्थापना गरिसकेको छ। बाँकी वडाहरूमा पनि केही दिनमै कार्यालय स्थापना गर्ने काम पूरा हुने गोदावरी नगर सभापति दीपक ओझाले बताएका छन्।
क्षेत्र नम्बर–४ अन्तर्गत गोदावरी नगरपालिका (१२ वडा), गौरीगंगा नगरपालिका (११ वडा), चुरे गाउँपालिका (६ वडा) र मोहन्याल गाउँपालिका (१ वडा) समावेश छन्। यसरी कुल ३० वडामा कार्यालय स्थापना भएपछि पार्टीका प्रतिनिधिहरूले प्रत्यक्ष सम्पर्कमार्फत मतदाता भेटघाट, क्षेत्रीय समस्या बुझ्ने र प्रचार प्रसारलाई थप प्रभावकारी बनाउने योजना बनाएका छन्।
रास्वपाले यस निर्वाचनमा आफ्नो प्रभाव जमाउने र क्षेत्रका मतदातासँग नजिकको सम्बन्ध बनाउन सक्रियता देखाइरहेको छ।
































