
आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै बैतडी जिल्लामा मतदानस्थलको सुरक्षा निरीक्षण कार्य तीव्र पारिएको छ। जिल्ला सुरक्षा समितिको नेतृत्वमा मतदानस्थलहरूको स्थलगत निरीक्षण भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिएका छन्। उनका अनुसार जिल्लाका १ सय २९ मतदानस्थलमध्ये ३३ ओटा अतिसंवेदनशील, २८ ओटा संवेदनशील र ६८ ओटा सामान्यको सूचीमा परेका छन्।

अतिसंवेदनशील मतदानस्थललाई प्राथमिकतामा राखेर अनुगमन भइरहेको प्रजिअ थापाले बताए। निरीक्षणका क्रममा मतदानस्थलको भौतिक अवस्था, सुरक्षाको तयारी, पूर्वाधारको उपलब्धता तथा जोखिमको मूल्यांकन गरिँदै आएको छ। साथै स्थानीय जनप्रतिनिधि, नागरिक अगुवा र सरोकारवालासँग छलफल गर्दै आवश्यक समन्वय पनि भइरहेको छ।

निर्वाचनका बेला खटिने कर्मचारीका लागि आवास, बिजुली, खानेपानीजस्ता आधारभूत सुविधाको अवस्था समेत निरीक्षण गरिँदै छ। आवश्यक परेका स्थानमा सिसीटीभी क्यामेरा जडानका लागि पहल भइरहेको जनाइएको छ। हालसम्म २० भन्दा बढी मतदानस्थलको निरीक्षण सम्पन्न भइसकेको छ।

बैतडीमा २ सय १४ मतदान केन्द्र रहेका छन् भने जिल्लामा कुल १ लाख ५६ हजार ३७२ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
































