
डडेल्धुराका ७४ वर्षीय एनबी तामाङ्गले करिब पाँच दशकपछि नेपाली नागरिकता प्राप्त गरेका छन्। जिल्ला प्रशासन कार्यालय डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी अमर बहादुर वलीले बुधबार तामाङ्गलाई नागरिकता हस्तान्तरण गरेका हुन्। उनलाई बंशजको आधारमा नागरिकता दिइएको हो।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइराला र संविधानसभा सदस्य ज्ञानु गैरेको विशेष पहलपछि आवश्यक प्रक्रिया पूरा भएको थियो। तामाङ्ग विगत ३५–४० वर्षदेखि डडेल्धुरामा बसोबास गर्दै आएका छन्। उनी २०३५ सालमा डडेल्धुरामा आएका थिए र विभिन्न कारणले नागरिकता बनाउन सकेका थिएनन्।

१४ वर्षको उमेरमा घर छोडेका तामाङ्ग पूर्वी नेपालका विभिन्न ठाउँमा मजदुरी गरेर जीवनयापन गर्दै आएका थिए। विवाह भएपनि सन्तान नभएकाले वृद्धावस्थामा राज्यको सहयोग आवश्यक महसुस गर्दै नागरिकता बनाउन अघि बढेका हुन्।

नागरिकता पाएपछि उनले सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा र अन्य राज्यका सुविधामा पहुँच पाउनेछन्। तामाङ्गले भने, “आज बल्ल नेपाली भएको अनुभूति भयो। पहिले नागरिकता आवश्यक कति हुन्छ भन्ने थाहा थिएन, अब वृद्धभत्तासहित सरकारी सहयोगमा पहुँच पाउने भएकोमा खुशी छु।”
































