
बैतडीको पुर्चौडीबाट बझाङतर्फ जाँदै गरेको जन्ती बोकेको बस दुर्घटनामा एक जना वडा सचिवको दुःखद निधन भएको छ। पुर्चौडी नगरपालिका–७ बडचौरमा भएको दुर्घटनामा दार्चुलाको शैल्यशिखर नगरपालिका–१ का वडा सचिव बसन्तराज जोशीको ज्यान गएको हो।

प्रहरीका अनुसार जोशी बझाङको बित्थडचिर गाउँपालिका–७ का स्थायी बासिन्दा हुन्। उनी दार्चुलाको शैल्यशिखर नगरपालिका कार्यालयअन्तर्गत पशु सेवा शाखामा नायब प्राविधिक सहायक (ना.प्रा.स.) पदमा कार्यरत थिए। साथै उनले शैल्यशिखर नगरपालिका–१ बलाँचको वडा सचिवको जिम्मेवारी पनि सम्हाल्दै आएका थिए।

पेसागत जिम्मेवारीसँगै जोशी नेपाल निजामती कर्मचारी संगठन, शैल्यशिखर नगर कार्यसमितिका सचिव समेत रहेका थिए। विवाहको खुसी साट्न हिँडेको जन्ती बस दुर्घटनामा परी वडा सचिव जोशीसहित १३ जनाको अकालमै मृत्यु भएपछि समग्र क्षेत्र शोकमा डुबेको छ।

प्रहरीले घाइतेहरूको उद्धार, उपचार तथा मृतकहरूको सनाखत गर्ने कार्य जारी रहेको जनाएको छ।





























