
अत्तरियाः कैलालीको गोदावरी नगरपालिका वडा न. १२, ओलानीस्थित ऐतिहासिक श्रीकृष्ण मन्दिरको निर्माण, संरक्षण तथा दीगो व्यवस्थापनका लागि आजबाट श्रीमद् भागवत ज्ञान–विज्ञान तथा धन्याञ्चल ज्ञान महायज्ञ औपचारिक रूपमा सुरु भएको छ। माघ २३ गतेदेखि फागुन १ गतेसम्म सञ्चालन हुने यस पावन महायज्ञले नगरवासीमा धार्मिक उत्साह र आध्यात्मिक ऊर्जा थपेको छ।

महायज्ञको कथा वाचन प्रख्यात कथा वाचक अच्युत शरण धिताल महाराजले गर्दै हुनुहुन्छ। भागवत कथामार्फत धर्म, संस्कार, ज्ञान र मानवीय मूल्यको सन्देश प्रवाह गरिने आयोजकले बताएका छन्।
कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले महायज्ञको उद्घाटन गर्दै मन्दिर निर्माण तथा व्यवस्थापनका लागि समुदायको एकता, सहयोग र समर्पण अत्यन्तै आवश्यक रहेको बताए। उनले भने, “मन्दिर केवल पूजा गर्ने स्थल मात्र होइन, यो संस्कार, संस्कृति र समाजलाई जोड्ने केन्द्र हो। यस महायज्ञले धार्मिक चेतना बढाउनुका साथै मन्दिरको दीगो विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ।”
कार्यक्रमा नै फरक प्रसङ्गमा जेन्जी आन्दोलन पश्चात सुदूरपश्चिमको बिकासका ढोका बन्द भएको समेत बताएका छन । आन्दोलन पछि निर्माण भएको सरकारले ३७ अर्ब रकम निकासा रोक्का गरेको समेत बताएका छन । संघीय सरकारबाट दशौँपटक पहल गरी गोदावरी नगरपालिकाका लागि ल्याइएको करिब ३७ करोड रुपैयाँको बजेट वर्तमान सरकारले रोकेको भट्टले बताएका छन्। उनका अनुसार गोदावरीधाममा तटबन्ध निर्माणका लागि विनियोजित तीन करोडसहित सुदूरपश्चिम प्रदेशका लागि छुट्याइएको साढे ६ अर्ब रुपैयाँ पनि रोकिएको छ। यति ठूलो विकास बजेट रोकिँदा सम्बन्धित पक्षले जिम्मेवार पहल गर्नुपर्ने उनको भनाइ छ।
कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष तेजराज अवस्थी, वडा नं. १२ का वडा अध्यक्ष भिम खड्का, वडा नं. ११ का वडा अध्यक्ष प्रेम सिंह बडैला, वडा सदस्यहरू, स्थानीय समाजसेवी, बुद्धिजीवी, शिक्षक, विद्यार्थी तथा श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
आयोजक पक्षले मन्दिर निर्माण तथा निरन्तर सहयोग पुर्याउने सम्पूर्ण दाता महानुभावप्रति हार्दिक आभार व्यक्त गर्दै सबै श्रद्धालु भक्तजनलाई महायज्ञमा उपस्थित भई श्रीमद् भागवत कथाबाट आध्यात्मिक लाभ लिन आग्रह गरेको छ। भगवान श्रीकृष्णको कृपा सबैमा रहोस्। राधे राधे 🙏🚩



































