
कञ्चनपुरको कृष्णपुर–१, चुरे फेदीस्थित दोमिल्लामा बाघको त्रास बढिरहेको छ। एश्वर्या सामुदायिक वनको पश्चिमतर्फ अम्रिसो बगान क्षेत्रमा डमरुसहितको बाघ विगत पाँच दिनदेखि साँझ नपर्दै स्थानीय गोठ र घर आँगनबाट बाख्रा र कुकुर लिएर खान थालेको छ।

सामुदायिक वनका अध्यक्ष ईश्वर बुढाका अनुसार बाघ बगान नजिक पुगेमा गर्जेर डर फैलाउने गरेको छ। हालसम्म उनले स्थानीय किसान सफल बुढाको बाख्रा, कमल बागको खसी, धर्मसिंह महरा र प्रेमबहादुर रावतको कुकुर घर आँगनबाटै मारेर खाएको बताए।

बाघले बस्ती नजिकैको बगान क्षेत्रमा रहिरहँदा सामुदायिक वन प्रवेशमा रोक लगाइएको छ। अध्यक्ष बुढाले सम्बन्धित निकायलाई जानकारी दिई नियन्त्रणका उपाय अपनाउन सुझाएका छन्। स्थानीय उपभोक्तालाई उच्च सतर्कता अपनाई जीउधनको सुरक्षाका लागि सचेत रहन आग्रह गरिएको छ।

स्थानीय बस्ती र बगान क्षेत्रमा बालबालिका, महिला र वृद्धवृद्धासहितका बासिन्दाले सतर्कता अपनाउनु जरूरी भएको छ।
































