बैतडी बस दुर्घटनाको पीडा: एकै आँगनबाट उठे सात पार्थिव शरीर, बझाङ शोकमा डुब्यो

Image
Nisarga Hospital

बैतडीको पुर्चौडी नगरपालिका–७ बडूगाउँको मोडमा बिहीबार अपराह्न जन्ती बोकेको बस दुर्घटना हुँदा ज्यान गुमाएका केटा पक्षका सात जनाको अन्त्येष्टिका लागि आज एकै आँगनबाट पार्थिव शरीर उठाइएको छ। एउटै परिवारका सात सदस्यको सामूहिक अन्त्येष्टिले गाउँ नै शोकसागरमा डुबेको छ।

CP Hospital Dhangadhi

दुर्घटनामा १३ जनाको ज्यान गएकोमा बझाङको बित्थडचिर गाउँपालिका–७ लगुणासाका नरेन्द्रराज जोशी, विष्णुदत्त जोशी, वसन्तराज जोशी, केशवराज जोशी, अशोकराज जोशी, किसनदत्त जोशी र विसनदत्त जोशी रहेका छन्। आज उनीहरूको एकै चिहानमा अन्त्येष्टि गरिँदै छ।

नरेन्द्रराज जोशी र विष्णुदत्त जोशी सहोदर दाजुभाइ हुन्। नरेन्द्र बित्थडचिर–७ का वडा सचिव थिए भने विष्णुदत्त स्थानीय महादेव माध्यमिक विद्यालयमा अङ्ग्रेजी शिक्षकका रूपमा कार्यरत थिए। मृतक वसन्तराज जोशी उनीहरूकै भतिजा हुन्। यस्तै, ४० वर्षीय केशवराज जोशी र उनका एकमात्र छोरा अशोकराज जोशी पनि सोही दुर्घटनामा ज्यान गुमाएका हुन्, जसमा अशोकराजको घटनास्थलमै मृत्यु भएको थियो।

गम्भीर घाइते भएका सहोदर दाजुभाइ किसनदत्त र विसनदत्त जोशीको डडेल्धुरा लैजाँदै गर्दा निधन भएको हो। यो हृदयविदारक घटनाले बझाङसहित सिंगो सुदूरपश्चिम शोकमा डुबाएको छ।