
आसन्न प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारहरूका लागि नेपाल चेम्बर अफ कर्मस सुदूरपश्चिम प्रदेश अन्तर्गत सुन्दर सुदूरपश्चिम अभियानले तय गरेका साझा नितिगत प्रतिबद्धता तथा कार्ययोजना आज कैलालीको अत्तरियामा उम्मेदवारहरूलाई हस्तान्तरण गरेको छ।

कार्यक्रममा चेम्बरका अध्यक्ष विनोद मल्लले उम्मेदवारहरूलाई प्रतिबद्धता र कार्ययोजना प्रत्यक्ष हस्तान्तरण गरेका हुन्। कैलाली क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका १६ मध्ये ७ जना उम्मेदवार कार्यक्रममा उपस्थित थिए। नेकपा, रास्वपा, राप्रपा, राष्ट्रिय जनमोर्चा, श्रम संस्कृति पार्टी, मितेरी पार्टी, र नेकपा संयुक्तका उम्मेदवारहरूले मात्र भौतिक रूपमा सहभागिता जनाएका थिए।


कैलाली चेम्बर अफ कर्मसका अध्यक्ष प्रमोद अधिकारीका अनुसार प्रदेशका ९ जिल्ला र १६ निर्वाचन क्षेत्रका सबै उम्मेदवारहरूलाई क्रमशः भौतिक उपस्थितिमा वा हुलाक तथा ह्वाट्सएपमार्फत कार्ययोजना पठाइनेछ।
गत आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको साझा नीतिगत प्रतिबद्धता तथा कार्ययोजनामा स्थानीय उत्पादन र आत्मनिर्भर अर्थतन्त्र, युवा रोजगारी, उद्यम र डिजिटल रुपान्तरण, स्वास्थ्य, शिक्षा र मानव पूँजी, भौतिक पूर्वाधार र रणनीतिक पहुँच, पर्यटन, खेलकुद, संस्कृति र सामाजिक न्यायका ५ मुख्य बुँदा समेटिएका छन्।
चेम्बरले उम्मेदवारहरूलाई यी कार्ययोजना अपनाउन प्रेरित गर्दै आगामी निर्वाचनमा प्रदेश विकास र सुशासन सुनिश्चित गर्न साझा प्रतिबद्धताको महत्वसमेत जोड दिएको छ। यस कार्यक्रमले उम्मेदवार र चेम्बरबीच समन्वय बढाउँदै प्रदेश विकासको कार्ययोजना व्यवहारमा प्रभावकारी ढंगले कार्यान्वयन हुने वातावरण तयार गर्ने अपेक्षा गरिएको छ।




























