देउवाको नाम, सुदूरपश्चिमको भावना: अछाममा भीम रावलको चुनावी अपिल

Image
Nisarga Hospital

कुनै समय सुदूरपश्चिममा नेकपा एमालेभित्र भीम रावलको प्रभाव निर्विवाद थियो। केन्द्रीय उपाध्यक्ष तथा सुदूरपश्चिम इन्चार्ज रहँदा उनले बोलेका शब्द कार्यकर्ताका लागि आदेशसरह हुन्थे। सुदूरपश्चिमको भूगोलबाट नेपाली कांग्रेसका शेरबहादुर देउवापछि राष्ट्रिय राजनीतिमा सर्वोच्च स्थान बनाउने नेताका रूपमा रावललाई हेरिन्थ्यो। एमालेभित्र निरन्तर उकालो यात्रामा रहेकाले त्यो मूल्याङ्कनमा असहमति जनाउने आधार कमै थिए।

CP Hospital Dhangadhi

तर समय बदलियो। एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सम्बन्ध चिसिँदै जाँदा २०७९ को प्रतिनिधिसभा निर्वाचनमा अछाम–१ बाट उनले टिकट पाएनन्। संसदीय राजनीतिबाट बाहिरिँदै जाँदा उनी भूमिकाविहीन बने र अन्ततः पार्टी कारबाहीमा परेर निष्काशित भए। त्यसपछि उनी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा आबद्ध भए। फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपाले उनलाई अछाम–१ बाट उम्मेदवार बनाएको छ।

Attariya Hospital

अहिलेको चुनावी मैदानमा रावल पहिले जस्तो शक्तिशाली संगठन र प्रभावसहित देखिँदैनन्। न एमालेको बलियो संरचना साथमा छ, न मतदातामा भविष्यको सर्वोच्च नेतृत्वप्रतिको पुरानो विश्वास नै। यद्यपि, उनी आफैं भने भविष्यमा देशको नेतृत्व सम्हाल्ने सम्भावनाको संकेत गर्दै जनतासमक्ष प्रस्तुत भइरहेका छन्। स्थानीय मतदातासँग नजिकिन उनी अछामी भाषामै सम्बोधन गर्छन्।

nawajiwan

यसै क्रममा उनले कांग्रेसका नेता शेरबहादुर देउवाको नाम लिएर सहानुभूति बटुल्ने प्रयास गरेका छन्। शुक्रबार अछामी भाषामा दिएको मन्तव्य सामाजिक सञ्जालमा भाइरल बनेको छ, जहाँ उनले देउवामाथि विगतमा भएका घटनाको स्मरण गर्दै सुदूरपश्चिमबाट एकजुट भई सिंहदरबारसम्म आवाज पुर्‍याउनुपर्ने सन्देश दिएका छन्।