
कैलालीको अत्तरियामा फागुन ७ गते म्याराथुन प्रतियोगिता आयोजना हुने भएको छ। दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयमा गठित पूर्व विद्यार्थी मञ्चको आयोजनामा हुने प्रतियोगितालाई ‘दुर्गालक्ष्मी दौडिन्छ’ शीर्षक दिइएको छ। आयोजकले आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिएको हो।

प्रतियोगितामा प्रथम हुने धावकले नगद २५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रो हुनेले १५ हजार ५५५ रुपैयाँ पुरस्कार पाउनेछन्। तेस्रो स्थान हासिल गर्ने धावकलाई ५ हजार ५५५ रुपैयाँ प्रदान गरिने प्रतियोगिता संयोजक प्रेमराज भट्टले जानकारी दिए। साथै महिला सहभागितालाई प्रोत्साहन गर्ने उद्देश्यले उत्कृष्ट महिला धावकलाई पनि ५ हजार ५५५ रुपैयाँको विशेष पुरस्कारको व्यवस्था गरिएको छ।
यस म्याराथुनमा दुर्गालक्ष्मी नमुना माविमा अध्ययन वा अध्यापन गरिसकेका पूर्व विद्यार्थीहरू मात्र सहभागी हुन पाउने छन्। महिला र पुरुष धावकलाई एउटै प्रतिस्पर्धामा समावेश गरिनेछ, जसले महिलाको सहभागिता बढाउने अपेक्षा गरिएको आयोजकको भनाइ छ।


पूर्व विद्यार्थी मञ्च विद्यालयसँग पूर्व विद्यार्थीलाई जोड्ने उद्देश्यले गठन गरिएको हो। मञ्चले विद्यालयलाई नमुना शैक्षिक संस्थाका रूपमा विकास गर्न प्रत्येक वर्ष विविध सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ। म्याराथुन विद्यालय परिसरबाट सुरु भई गोदावरी पुलसम्म पुगेर समापन हुनेछ। प्रतियोगितापछि गोदावरी धाममा पूर्व विद्यार्थीका लागि पिकनिक कार्यक्रम पनि आयोजना गरिनेछ।
प्रजातन्त्र दिवसको अवसरमा आयोजना हुने यस वर्षको म्याराथुनको नारा ‘दौड स्वास्थ्यका लागि, भेटौँ मित्रताका लागि’ तय गरिएको छ।
































