
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाले सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रणका लागि सबै पक्षको साझा प्रतिबद्धता, समन्वय र सहकार्य अपरिहार्य रहेको बताएका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवस २०८२ का अवसरमा कञ्चनपुरमा आयोजित कार्यक्रममा उनले मुलुकमा बढ्दो भ्रष्टाचार चुनौतीपूर्ण बन्दै गएको र यस नियन्त्रणमा आयोगको भूमिका प्रशंसनीय रहेको उल्लेख गरे।

प्रदेश प्रमुख मियाले संविधानले निर्धारण गरेको दीगो शान्ति, सुशासन, विकास र समृद्धिका लक्ष्य प्राप्तिका लागि भ्रष्टाचार नियन्त्रण अनिवार्य रहेको धारणा व्यक्त गरे। उनले सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, पारदर्शी, भ्रष्टाचारमुक्त र जनउत्तरदायी बनाउन सबैको साझा दायित्व भएको स्पष्ट पारे।
कार्यक्रममा अख्तियार कञ्चनपुर कार्यालयका प्रमुख वेदप्रसाद भण्डारीले सुदूरपश्चिममा पछिल्लो १२ वर्षमा ११ हजार ९५२ उजुरी दर्ता भएको जानकारी दिए। चालू आर्थिक वर्षसम्म सबैभन्दा बढी उजुरी कैलालीबाट २९२ र सबैभन्दा कम डडेल्धुराबाट ७६ दर्ता भएको छ।


कार्यक्रममा महेन्द्रनगर कार्यालयका शाखा अधिकृत चेतराज भट्ट र इन्जिनियर सुलभ न्यौपानेलाई उत्कृष्ट अख्तियार अनुसन्धान सेवा पुरस्कार २०८२ प्रदान गरिएको थियो। उनीहरूलाई जनही २०–२० हजार रुपैयाँ नगद र प्रमाणपत्रसहित सम्मान गरिएको थियो।
प्रदेश प्रमुख मियाले भ्रष्टाचार निवारण र सुशासन स्थापनाका लागि आगामी दिनमा पनि आयोग अझ सशक्त भएर अघि बढ्ने विश्वास व्यक्त गरे।




















