
बाजुरा: बाजुराको बुढीनन्दा नगरपालिका–९ डप्कस्थित सिद्धेश्वरी अनाथ, विपन्न तथा दलित–जनजाति आवासीय विद्यालयमा भोट भाषाको पढाइ सुरु गरिएको छ। लोपोन्मुख अवस्थामा पुगेको मातृभाषा संरक्षण गर्ने उद्देश्यले विद्यालयले २०७९ सालदेखि औपचारिक रूपमा भोट भाषाको कक्षा सञ्चालन गर्दै आएको जनाएको छ।

यस विद्यालयमा प्रायः भोटे समुदायका बालबालिका अध्ययनरत छन्। उनीहरूलाई आवासमै राखेर पठनपाठन गराइँदै आएको छ। सरकारी कामकाजमा राष्ट्रिय भाषा प्रयोग भए पनि दैनिक बोलचालमा भोट भाषा प्रयोग हुँदै आएको र पछिल्लो पुस्तामा यसको प्रयोग घट्दै गएको देखिएपछि संरक्षणका लागि पहल गरिएको प्रधानाध्यापक तुलाबहादुर रावतले बताए।
विद्यालयले भोट भाषा अध्ययन गरेका एक जना शिक्षक नियुक्त गरी कक्षा दुईसम्मको पाठ्यपुस्तकका आधारमा पढाइ सञ्चालन गरिरहेको छ। हाल यो विषयलाई अतिरिक्त क्रियाकलापका रूपमा समेटिएको छ। बिहान १० बजेदेखि ४ बजेसम्म अंग्रेजी र नेपाली भाषामा नियमित कक्षा सञ्चालन हुन्छ भने बेलुका ५ देखि ६ बजेसम्म भोट भाषाको पढाइ हुने गरेको रावतले जानकारी दिए। “यो बाजुराको एक मात्र जनजाति लक्षित विद्यालय हो, जहाँ अधिकांश जनजातिका बालबालिका अध्ययन गर्छन्,” उनले भने।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह गुरुङका अनुसार पुराना पुस्ताले बोल्दै आएको भोट भाषा नयाँ पुस्तामा हराउँदै गएको छ। “हाम्रा बाबु–बाजेले बोल्ने भाषा हामीले नै छोड्दै गएका छौं। भाषा लोप हुने डरले नयाँ पुस्तालाई सिकाउन थालेका हौं,” उनले भने।
हाल विद्यालयमा झण्डै १२० जना विद्यार्थी अध्ययनरत छन्, जसमध्ये ६३ जना आवासमै बस्छन्। आगामी दिनमा कक्षा पाँचसम्म भोट भाषाको पाठ्यपुस्तक ल्याएर पढाइ विस्तार गर्ने तयारी विद्यालयले जनाएको छ।































