
अत्तरिया: कैलालीको अत्तरियामा महाशिवरात्रि पर्व श्रद्धा र उल्लासका साथ मनाइएको छ। ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय शाखा अत्तरियाले आयोजना गरेको शिवध्वजारोहण तथा स्नेह मिलन कार्यक्रम संस्थाकी प्रमुख ब्रह्माकुमारी रविनाको संयोजकत्वमा सम्पन्न भएको हो।

कार्यक्रममा कथावाचिका सुमी मानवले भगवान शिवको महिमा, आत्मशुद्धि र आध्यात्मिक जागरणका विषयमा प्रवचन दिएकी थिइन्। उपस्थित श्रद्धालुहरूबीच भगवान शिवको नामबाट सामूहिक रूपमा केक काटेर पर्व मनाइएको थियो, जसले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो।

शिवध्वजारोहणसँगै भजन–कीर्तन गरिएको कार्यक्रममा आध्यात्मिक वातावरण झल्किएको थियो। सशस्त्र प्रहरी बलका निमित्त बाहिनीपति, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा स्थानीय श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमले आपसी सद्भाव, आध्यात्मिक एकता र सामाजिक समन्वयलाई सुदृढ बनाउने सन्देश दिएको आयोजकले बताएका छन्।


















