
धनगढी: कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार चन्द्र साउदले आफ्नो विस्तृत प्रतिबद्धता–पत्र सार्वजनिक गर्दै औपचारिक रूपमा चुनावी अभियान सुरु गरेका छन्। उज्यालो नेपाल पार्टी का तर्फबाट उम्मेदवारी दिएका साउदले पार्टीका नेतृत्वकर्ता कुलमान घिसिङ को नेतृत्वमा आफू जनताको मुद्दा लिएर चुनावी मैदानमा उत्रिएको बताएका छन्।
उम्मेदवारी घोषणा गर्दै उनले देश र जनताको निम्ति जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरे। सुदूरपश्चिममा दशकौंदेखि जटिल सामाजिक–आर्थिक समस्याका रूपमा रहेका मुद्दा समाधान आफ्नो मुख्य प्राथमिकता रहने उनले स्पष्ट पारे। विशेष गरी कमैया प्रथाबाट प्रभावित परिवार, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पुनर्स्थापना, बेरोजगार युवाको रोजगारी र सुशासन स्थापना उनको प्राथमिक एजेन्डा रहेको छ।
कैलाली र कञ्चनपुरका ऐलानी तथा सार्वजनिक जमिनमा बसोबास गर्दै आएका हजारौं परिवारको समस्या दीर्घकालीन नीति निर्माणमार्फत समाधान गर्ने प्रतिबद्धता उनले जनाए। “भूमिहीन नागरिकलाई अधिकारसहितको बसोबास दिलाउनु राज्यको दायित्व हो,” भन्दै उनले विगतदेखि कमैया प्रथाको अवशेष अन्त्यका लागि पहल गर्दै आएको दाबी गरे।
उपभोक्ता अधिकार क्षेत्रमा सक्रिय रहेको उल्लेख गर्दै साउदले कालोबजारी, भ्रष्टाचार र माफियाविरुद्धको अभियान सदन र सडक दुवैबाट सशक्त बनाउने बताए। सबै नागरिकले स्वस्थ खानेकुरा, गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाको संवैधानिक अधिकार उपभोग गर्न पाउनुपर्नेमा उनले जोड दिए।
पूर्वाधार विकासअन्तर्गत धनगढी विमानस्थल लाई स्तरोन्नति गरी राष्ट्रिय हबका रूपमा विकास गर्ने, हवाई भाडादरको असमानता घटाउन पहल गर्ने उनले बताए। साथै शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय लाई राष्ट्रिय गौरवको विश्वविद्यालयका रूपमा स्थापित गर्ने र सेती प्रादेशिक अस्पताल को स्तरवृद्धि गराउने योजना उनले अघि सारे।
उच्च अदालत धनगढीमै कायम राखी डोटीमा इकाई स्थापना गर्न पहल गर्ने, सडक, पुल, शिक्षा, स्वास्थ्य र खानेपानीजस्ता आधारभूत क्षेत्रमा पर्याप्त बजेट विनियोजन गराउन पहल गर्ने उनको भनाइ छ।
युवालाई लक्षित गर्दै उनले पाँच वर्षभित्र कृषि, सूचना प्रविधि, वन, जलस्रोत र स्वास्थ्य क्षेत्रमा १२ हजार बेरोजगार युवालाई रोजगारी सुनिश्चित गर्ने लक्ष्य सार्वजनिक गरेका छन्। सुदूरपश्चिममा स्मार्ट आईटी व्यवसाय प्रवर्द्धन गरी सामाजिक सञ्जाल र इन्टरनेटलाई आयआर्जनको माध्यम बनाउने वातावरण तयार गर्ने उनले बताए। प्रदेशस्तरीय सीप तथा रोजगार भवन स्थापना र राष्ट्रिय स्तरको औषधि उद्योग स्थापना गरी आत्मनिर्भरता बढाउने योजना पनि प्रतिबद्धता–पत्रमा समेटिएको छ।
साना व्यवसाय प्रवर्द्धनका लागि ५० लाख रुपैयाँभन्दा कम लगानीका उद्यमलाई ५० प्रतिशत सहुलियत ऋण उपलब्ध गराउन सरकारलाई दबाब दिने उनले बताएका छन्। सहकारी पीडितको समस्या समाधानका लागि अधिकारसम्पन्न आयोग गठन र रकम फिर्ताको पहल गर्ने प्रतिबद्धता पनि जनाएका छन्।
सांस्कृतिक पहिचान संरक्षणका लागि सनातन हिन्दु धर्मसम्बन्धी प्रदेशस्तरीय पुस्तकालय स्थापना गर्ने योजना उनले सार्वजनिक गरेका छन्।
प्रतिबद्धता–पत्रअनुसार कार्यक्रम कार्यान्वयन गर्ने अठोटसहित साउदले मतदातासमक्ष समर्थनको अपिल गरेका छन्। उज्यालो नेपाल पार्टीको चुनाव चिह्न “चिम” मा मतदान गरी विजयी गराउन उनले आग्रह गरेका छन्।
कैलाली–५ मा चुनावी गतिविधि तीव्र बन्दै जाँदा साउदको प्रतिबद्धता–पत्रले स्थानीय विकास, रोजगारी, सुशासन र सामाजिक न्यायका मुद्दालाई केन्द्रमा राख्दै चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।


































