
बझाङको जयपृथ्वी नगरपालिका–९ लाई ‘घरमा सुत्केरी नहुने’ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ। संघीयता कार्यान्वयनपछि सुदूरपश्चिम प्रदेशका ८८ पालिकामध्ये यस्तो घोषणा गर्ने यो पहिलो वडा बनेको हो। नगरपालिकाले विगत चार वर्षदेखि अघि सारेको नीति, जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य सेवाको सुदृढीकरणका कारण यो उपलब्धि सम्भव भएको जनाएको छ।

घोषणा कार्यक्रममा नगर प्रमुख चेतराज बजालले वडालाई दीगो रूपमा घरमा सुत्केरी नहुने सुनिश्चितता कायम राख्नुपर्नेमा जोड दिए। गर्भावस्था, सुत्केरी तथा सुत्केरीपछिको अवधिमा आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षा गर्दै मृत्युदर र रोगदर घटाउनु नै मुख्य लक्ष्य रहेको उनले बताए।

प्रमुख प्रशासकीय अधिकृत नैन बहादुर सिंहले योजनाबद्ध कार्यान्वयन र आर्थिक वर्ष २०८१/०८२ को नीति अनुसार रिठापाटा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना भएपछि समुदायस्तरमै सेवा प्रवाह सहज बनेको उल्लेख गरे। कार्यक्रममा सुरक्षित मातृत्व अभियानमा सहयोग पुर्याउने संघ–संस्थालाई प्रशंसा पत्र वितरण गरिएको थियो।

































