
अत्तरियाः नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्ने क्रम कैलालीको चुरे क्षेत्रमा तीव्र बन्दै गएको छ। चुरे गाउँपालिका–५ खानीडाँडामा आयोजित कार्यक्रममा गोरखबहादुर धामी, सागरबहादुर मगर, बालकृष्ण कँडेल, मान जाग्री, ललित तामाङ, प्रकाशबहादुर बोहरा र पुरन धामी कांग्रेसमा प्रवेश गरेका हुन्।

उनीहरूलाई कांग्रेस क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गोरखबहादुर बिष्ट “आनन्द” ले टिका तथा खादा लगाएर स्वागत गरे। कार्यक्रममा बोल्दै बिष्टले चुरे क्षेत्रको दिगो विकास, सडक–सिँचाइ विस्तार, खानेपानी व्यवस्थापन, शिक्षा र स्वास्थ्य सुधारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।
नवप्रवेशीहरूले जनअपेक्षा र स्थानीय आवश्यकतालाई केन्द्रमा राखेर निर्णय लिएको बताए। कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। यस घटनाले चुरे क्षेत्रको राजनीतिक समीकरणमा नयाँ तरंग ल्याएको विश्लेषण गरिएको छ।
































