
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले पहाडी तथा हिमाली भूभागमा सामान्यतया बदली रही तराई क्षेत्रमा आंशिक बदली देखिएको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने कोशीका पहाडी तथा तराई भूभागसहित अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। बागमती र गण्डकीका हिमाली क्षेत्रमा पनि यस्तै अवस्था रहनेछ। साथै लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा केही स्थानमा हावाहुरी चल्न सक्ने सम्भावना रहेको छ।

आज राति पनि कोशी प्रदेशमा बदली रहनेछ भने अन्य हिमाली क्षेत्रमा आंशिक बदलीसँगै हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।































