
इरान र अमेरिकाबीच पाकिस्तानको मध्यस्थतामा इस्लामावादमा भएको पहिलो चरणको शान्ति वार्ता सम्पन्न भएको छ। हिजो दिउँसोदेखि सुरु भई रातभर चलेको वार्तामा उठाइएका विषयहरू हाल गोप्य राखिएको बीबीसीले जनाएको छ। दुवै पक्षले आ–आफ्ना अडान कडा रूपमा प्रस्तुत गरेकाले ठोस प्रगति भएको वा अर्को चरणमा जाने निर्णय भइसकेको छैन।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफको कार्यालयले वार्ता सुरु भएको पुष्टि गर्दै यसलाई मध्यपूर्वमा बढ्दो तनाव कम गर्ने महत्वपूर्ण कूटनीतिक प्रयासका रूपमा उल्लेख गरेको छ। वार्ताअघि दुवै देशका प्रतिनिधिमण्डलले प्रधानमन्त्री सरिफसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

वार्तामा इरानको परमाणु कार्यक्रम, हर्मुज जलमार्गको सुरक्षा, लेबनान तनावलगायत विषय प्रमुख रूपमा उठेका छन्। यसैबीच अमेरिकी पक्षले रणनीतिक जलमार्गमा सुरक्षा कारबाही बढाइएको दाबी गर्दै दुई युद्धपोत हर्मुज मार्ग पार गरेको जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्धमा ठूलो क्षति व्यहोरेको उल्लेख गर्दै स्थिति अझै संवेदनशील रहेको संकेत गरेका छन्। विश्वको कच्चा तेल आपूर्तिको झण्डै २० प्रतिशत ओसारपसार हुने हर्मुज जलमार्गको अवस्थालाई लिएर अन्तर्राष्ट्रिय समुदायमा चासो बढेको छ।































